Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डेंगी संक्रमण बढ्दो, ११ जनाको मृत्यु


डेंगी संक्रमण बढ्दो, ११ जनाको मृत्यु

काठमाडौं । डेंगी संक्रमणले यस वर्ष ११ जनाको मृत्यु भइसकेको छ । उनीहरू सबै धरानका हुन् । मृत्यु भएकामध्ये अधिकतर व्यक्ति दीर्घ रोगी, जटिल स्वास्थ्य स्थिति भएका र बूढापाका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार डेंगीले ज्यान गुमाएकामध्ये १० वर्षे बालिका र २० वर्षीया युवती पनि छन् ।

गत वर्ष पनि प्रयोगशाला प्रमाणित डेंगी संक्रमणले मृत्युभएका ८८ जनामध्ये अधिकतरमा कुनै न कुनै दीर्घ रोग थियो । ईडीसीडीका अनुसार यो वर्ष भेटिएका संक्रमितमध्ये सुनसरी जिल्लामा ५३.५६ प्रतिशत र कोशी प्रदेशमा ७३.६७ प्रतिशत रहेका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार धरानमा यो वर्ष मृत्यु भएका अधिकतरमा डेंगीसँगै कोमर्बिडिटी एकै पटकमा फरकफरक बिमार रहेको रिपोर्ट छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार डेंगी भाइरस संक्रमण प्रायः एसिम्प्टोमेटिक लक्षणरहित हुन्छ वा त्यसले केवल हल्का रोग उत्पन्न गर्छ, तर डेंगीले कहिलेकाहीं धेरै गम्भीर अवस्था निम्त्याएर ज्यान पनि लिन सक्छ ।

‘डेंगीले यो वर्ष र गत वर्ष मृत्यु भएकाहरूका बारेमा विश्लेषण गर्दा तत्काल आत्तिनुपर्ने अवस्था देखिएको छैन,’ ईडीसीडीका महानिर्देशक डा. रुद्रप्रसाद मरासिनीले भने, ‘तर हामीले बूढापाका, दीर्घ रोगी र बालबालिकालाई यो संक्रमणबाट जोगाउन विशेष ध्यान दिनुपर्छ ।’ उनका अनुसार स्वस्थ व्यक्ति वा औषधिले उच्च रक्तचाप, मधुमेहलगायत दीर्घ रोग नियन्त्रणमा राखेकालाई डेंगी संक्रमणले खासै समस्या पारेको छैन ।

जाडोयाम नआएसम्म डेंगीको संक्रमण जारी रहने भएकाले मुख्य रूपमा बिहान र बेलुका अर्थात् दिनमा टोक्ने लामखुट्टेबाट बच्न तथा लामखुट्टेलाई नष्ट गर्ने अभियान सञ्चालन गर्न विज्ञहरू जोड दिन्छन् । डब्लूएचओका अनुसार डेंगीको विश्वव्यापी प्रकोप नाटकीय रूपमा बढेको छ र विश्वका आधा जनसंख्या अहिले डेंगीको जोखिममा छन् । १ सय २९ मुलुक डेंगी संक्रमणको जोखिममा भए पनि वास्तविक बोझको ७० प्रतिशत एसियामा छ ।