काठमाडौँ । दशैमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ । सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् ।
दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।
काठमाडौँ चौपाया खरिद बिक्री व्यवसायी सङ्घले यसपालिको दसैँमा २२ देखि २३ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरेको छ । कोभिड हुनुभन्दा अगाडि दसैँमा उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने गरेकोमा पछिल्लो समय खपत क्रमिक रूपमा घट्दै गएको छ ।
हाल बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६५० देखि ६८० रुपियाँसम्म रहेको छ । तयारी मासु भने प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँ रहेको छ । खसीको मासुको मूल्य पनि गत वर्षकै हाराहारीमा रहेको छ । हाल कलङ्की खसी बजारमा दैनिक पाँच सयको सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन् ।
अन्य समयको तुलनामा दसैँको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन् । निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । खाद्यले अठार सय खसीबोका बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।
कम्पनीले दसैँमा एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको छ । खसीबोका खरिद गर्न चार करोड रुपियाँ छुट्याइएको छ। कम्पनी हेटौँडा र तुलसीपुरबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । गत वर्ष कम्पनीले एक हजार ६५९ खसीबोका र ५४२ च्याङ्ग्रा बिक्री गरेको थियो । गत वर्ष प्रतिकेजी निर्धारित बजार मूल्यमा प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गरेको थियो ।