Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्रिप्टो किङ साम ब्यांकम्यान अर्बौंको धोखाधडी र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


क्रिप्टो किङ साम ब्यांकम्यान अर्बौंको धोखाधडी र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

एजेन्सी । क्रिप्टोकरेन्सी क्षेत्रका चर्चित व्यक्तिमध्ये एक, पूर्वअर्बपति साम ब्यांकम्यान फ्रीड एसबीएफलाई अदालतले अर्बौं अमेरिकी डलरमा धोखाधडी र सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको छ । न्युयोर्कस्थित म्यानह्याटन संघीय अदालतले जुरीसहितको एक महिना लामो बहस सकिएपछि उनलाई दोषी ठहर गरेको हो । क्रिप्टोकरेन्सी एक्स्चेन्ज कम्पनी, एफटिएक्स टाट पल्टिएपछि गत वर्ष पक्राउ परेका ३१ वर्षीय यी अमेरिकी अर्बपतिलाई कुनै बेला फर्चुनजस्ता म्यागाजिनहरूले आगामी वारेन बफेटुको संज्ञा दिने गरेका थिए । १२ जना व्यक्ति सम्मिलित जुरीले सामका परिवार, स्टानफोर्ड ल स्कुलका प्राध्यापकहरूसँगै अन्य नजिकका व्यक्तिहरूको उपस्थितिमा सो फैसला सुनाएको छ ।

अमेरिकी न्याय मन्त्रालयका अभियोजकहरूले सामलाई व्यक्तिगत लालचका लागि एफटीएक्सका प्रयोगकर्ताहरूबाट झन्डै ८ अर्ब अमेरिकी डलर ठगी गरेको र सम्पत्ति शुद्दीकरणका विभिन्न अभियोगहरू लगाएको थियो । पूर्वअर्बपति क्रिप्टो व्यवसायीले सो अभियोगमा आफू दोषी नरहेको जिकिर गरेका गर्दै आएका थिए । अमेरिकी अदालतको यो फैसला सामको कम्पनी एफटीएक्स टाट पल्टिएको झन्डै एक वर्षपछि आएको हो । सन् २०२१ को अन्त्यतिर झन्डै २६ अर्ब अमेरिकी डलर सम्पत्तिको मालिक रहेका उनको ओरालो यात्रा शुरू भएको थियो ।

अदालतका न्यायधीशले सामको सजाय सन् २०२४ को मार्चमा सुनाइने मिति तोकेका छन् । विज्ञहरूका अनुसार उनलाई दशौं वर्षसम्मको जेल सजाय हुन सक्छ । उनीमाथि लागेका बैंक धोखाधडी र विदेशमा घुष खुवाएका अभियोगहरूमा सुनुवाई अझै जारी छन् । कानुनी प्रक्रियाको शुरूवातबाट नै आफू निर्दोष रहेको दाबी गर्दै आए पनि सामकी पूर्वप्रेमिका समेत ३ जना पूर्वसहकर्मीहरूले उनको विपक्षमा बयान दिएपछि सबै मुद्दाको प्रतिरक्षामा उनी कमजोर देखिएका थिए ।

एफटीएक्सको शुरूवातबाट नै सामले प्रयोगकर्ताहरूबाट उठाएको रकम सुरक्षण गर्नुको सट्टा घुषखोरी, सम्पत्ति खरीद, अन्य क्षेत्रमा लगानी र राजनीतिक अभियानहरूलाई चन्दा दिनमा खर्चिएको प्रमाणसमेत सामका पूर्व साझेदारहरूले पेश गरेका थिए । सन् २०२२ को अमेरिकी मध्यावधी चुनावताका यी कान्छा क्रिप्टो उद्यमीले झन्डै ७० मिलियन अमेरिकी डलर राजनीतिक चन्दा दिने कार्यमा खर्चिएका थिए । त्यतिबेला उनी जर्ज सोरोसपछिको सबैभन्दा ठूला राजनीतिक दाताको रूपमा चर्चित बनेका थियो ।

कुनै समय वालस्ट्रीटकै मुखमा झुन्डिने नाम बनेका एसबीएफको चमत्कारी उचाइ अमेरिकी न्याय मन्त्रालयको विद्युतीय मुद्रा नियमन गर्ने र यो क्षेत्रका अनियमितता नियन्त्रण गर्ने अभियानसँगै दबाबमा आएको थियो । गत वर्ष एफटीएक्स टाट पल्टिएको घोषणा गरिएपछि क्रिप्टो क्षेत्रका विभिन्न कम्पनी संकटमा पर्ने र सो क्षेत्रकै विश्वसनियतामा कमी आउने मात्रै नभएर प्रयोगकर्ताहरूलाई झन्डै १०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको अनुमानहरू सार्वजनिक भएका छन् ।

एफटीएक्ससँग प्रमुख कारोबारर गर्ने सिल्भरगेटजस्ता अमेरिकी बैंकहरू संकटग्रस्त भएका घटनाहरूले पनि एसबीएफ र उनको प्रभाव कति ठूलो थियो भन्ने अनुमान गर्न सकिन्छ । गत वर्षको नोभेम्बरमा आफ्नो क्रिप्टो एक्सचेन्ज एफटिएक्सलाई टाट पल्टिएको घोषणा गरेपछि उनलाई २०२२ को डिसेम्बरमा प्रहरीले बहमासस्थित उनको निवासबाट गिरफ्तार गरेको थियो । प्रयोगकर्ताहरूबाट एसबीएफले लिएको सबै रकम फिर्ता नभएको भए पनि धेरैजस्तो रकम पत्ता लागेको अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ ।