Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै


बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

बागलुङ । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो ।

बुर्तिबाङ बजारदेखि तमानखोला–३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुङ्गा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोङ्गा दोभानबाटै पुग्नुपर्छ । दुर्गम पालिकालाई पक्की सडकले जोड्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ ।

बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ–बोङ्गादोभान सडक कालोपत्रे गरिने भएको छ । ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् ।

भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ । अग्ला–अग्ला पहाड र खोँच छिचोल्दै बस्ती पुगिने हुँदा सडक पनि साह्रै साँघुरा र अप्ठ्यारा छन् ।

साँघुरा सडकका कारण समय–समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् । बागलुङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताए। सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उनको भनाई छ । प्रदेशसभा सदस्य कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताए ।