काठमाडौं । नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा स्नातक तहमा उड्डयन व्यवस्थापन पढाइ हुने भएको हो । उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन्स अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम समावेश गरिएको सिम्रिक भेञ्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।
उनका अनुसार चार वर्षे स्नातक कार्यक्रमले विद्यार्थीलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको छ । तीन वटा संस्थाको साझेदारीमा सञ्चालन हुन लागेको यस कार्यक्रमले अब विद्यार्थीहरुलाई अध्ययनकै लागि विदेशिनु पर्ने बाध्यता अन्त्य हुने काठमाडौं विश्वविद्यायका उपकुलपति भोला थापाले बताए ।
विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको पाठ्यक्रमले विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण गरिने सिद्धार्थ वनस्थली इन्स्टिच्युटका अध्यक्ष पुष्पराम के।सीले बताए । उनका अनुसार विद्यार्थीहरूले उड्डयन प्रविधिहरू, उपकरणहरू र प्रणालीहरूसहित उड्डयनका विभिन्न पक्षहरूबारे सिक्नेछन् ।
जटिल परिस्थितिहरू कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसाग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिका पनि सिक्नेछन् । आगामी असोजको पहिलो साताबाट अध्यापन सुरु हुने ४ वर्षे (८ सेमेस्टर हुने) कोर्ष अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई जम्मा ८ लाख ५० हजार शुल्क लाग्ने र विदेशी विद्यार्थीको हकमा १७ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।