काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि भदौ १९ गते निष्काशन गरेको शेयरमा भने आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले अब असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो शेयरका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं। १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं। १९ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १९ हजार १२० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।