काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच बादविवाद भएको छ। सिंहदरबारमा शुक्रबार बसेको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको अभिव्यक्तीलाई लिएर अन्य दलका सांसदहरूले आपत्ति जनाएका थिए ।
बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नागरिकहरु बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको भनेपछि विवाद चर्कीएको थियो । संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको टिप्पणी पराजुलीको थियो ।
पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग गरेको थिए । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दामात्रै हो ? भन्दै प्रश्न गरेपछि सत्तापक्ष सांसदहरूले आपत्ति जनाएका थिए ।
नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको तर्क गरेका थिए । विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै उनले रुलिङको माग गरेका थिए । विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए ।
सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारणको जवाफ माग गरेका थिए । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।
बैठकमा सांसदहरुबीच विवाद बढ्दै गर्दा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले मानव तस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भएका थिए । उनले आफ्ना अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेको र रास्वपा सभापति रवि लामिछाने जेलमा रहेको प्रसंग उठाउँदै संसदमा आफ्नो पार्टीको भूमिका पनि महत्वपूर्ण भएको तर्क गरेका थिए । पुनः विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
त्यसपछि आफूले बोलेको विषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले चर्काे स्वरमा आपत्ति जनाए । विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरेका थिए । सिंगो समितिका सांसदहरुसँगै एक्लै भिडिरहेका सांसद पराजुलीले अन्तिमसम्म मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहोर्याए ।