Saturday, August 16, 2025

२०८२ श्रावण ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा


रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

काठमाडौं । चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताए।

खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ। रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सीधै राजधानी लाने गरेको उनले जानकारी दिए।

भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनीअन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो।

सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ। ठेक्का आर्थिक वर्ष ०७९-८० मा सम्झौता भएको थियो। सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन।

गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताए। कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौं लगिने शेर्पा बताए। मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन्।