काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ४० सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपालबाट प्रधानमन्त्रीसहित २६ र अमेरिकामा थप १४ जना गरी ४० सदस्यीय टोलीको टुंगो लागेको हो । न्युयोर्क जाने टोलीमा दाहालकी कान्छी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् ।
अमेरिकामा थपिने १४ जनामा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा र नियोगका अधिकारीहरू तथा वासिङ्टन डीसीस्थित नेपाली दूतावासका राजदूत श्रीधर खत्री र दूतावासका अधिकारी छन् । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७८ औं महासभाको दौरान करिब एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । दुई वर्षपछि महासभामा प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो भने सन् २०१८ मा ७३ औं महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए ।
सन् २०१९ मा ७४ औं महासभामा ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए भने सन् २०२० मा कोभिड–१९ को कारण भर्चुअल रूपमा भएको ७५ औं महासभामा तत्कालीन प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गरेका थिए । सन् २०२१ मा भएको ७६ औं महासभामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का र सन् २०२२ को ७७ औं महासभामा परराष्ट्र सचिव भरतराज पौड्याललाई जिम्मेवारी दिएर सम्बोधन गर्न पठाएको थियो ।
सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ । त्यसबीचमा नेपालले दिगो विकास लक्ष्यहरू (एसडीजी) समिट, हाई लेभल डाइलग अन फाइनान्सिङ फर डेभलपमेन्ट, क्लाइमेट एम्बिसन समिट, हाई लेभल मिटिङ अन पेन्डामिक प्रिभेन्सन, प्रिपियरनेस एन्ड रेसस्पोन्स, प्रिपराटोरी मिनिस्टर्ल मिटिङ फर द समिट अफ द फ्युचर, हाई–लेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल, हाई–लेभल मिटिङ अल द फाइट अगेन्स टुभर्कुलोसिस, अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गर्दै कार्यक्रम, सार्क मन्त्रीस्तरीय साइडलाइन वार्तामा नेपालको तर्फबाट सहभागिता रहनेछ ।
दाहाल न्युयोर्कबाट नेपाल नआई सिधै चीन उड्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले तय गरिसकेको छ तर मन्त्रिपरिषद्ले चीन भ्रमणको निर्णय गरिसकेको छैन । दाहालले सेप्टेम्बर २३ देखि २७ (असोज ६ देखि १०) सम्म चीन भ्रमण गर्ने गृहकार्य भइरहेको छ । दाहाल न्युयोर्कबाट असोज ५ मा चीनको हाङचाओमा एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन जानेछन् । उनी असोज ६ मा उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
त्यसपछि असोज ७ मा बेइजिङ प्रस्थान गरी असोज ८ मा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । सोही दिन द्विपक्षीय वार्ता पनि हुनेछ । दाहाल त्यसपछि थप दुई दिन चीनका अन्य स्थानको भ्रमण गरेर फर्कने कार्यक्रमको गृहकार्य भइरहेको छ । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।