काठमाडौं । दसैँ सकिएलगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थालेका छन् । दसैँअघि प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुने प्याज अहिले १२० देखि १३० रुपियाँ पुगेको छ । सीमापारिको भारतीय बजार रक्सौलमा बढीमा ८० देखि ९० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको प्याज स्थानीय तस्करले वीरगन्जसम्म ल्याएर महँगोमा बेचिरहेका छन् ।
प्रतिदिन सयौँको सङ्ख्यामा साइकल, टेम्पो र इरिक्सामा तस्करले सुरक्षा चेकजाँचमा खटिएका सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी वीरगन्ज भन्सार नाकाको मूल बाटोबाट प्याज ल्याउने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
वीरगन्ज भन्सार नाकाको फरक फरक ठाउँमा पहिलो घेरामा भन्सार गार्ड, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा जनपद प्रहरीको सुरक्षा तथा चेकजाँच पोस्ट रहेको छ । तस्करले यी तीनै तहका चेकपोस्टमा सामान र परिमाण अनुसार पैसा दिँदै मालसमान ल्याउने गरेको स्थानीयको भनाई छ ।