Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चाडपर्व नजिकिँदै गर्दा तरकारीको भाउ ७४ प्रतिशतले महँगियो


चाडपर्व नजिकिँदै गर्दा तरकारीको भाउ ७४ प्रतिशतले महँगियो

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०÷२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो ।

पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ भने खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।

यस्तै साउन १६ गते ४५ रुपियाँमा थोकमा कारोबार भएको तनेबोडी भदौको ४ गते मूल्य बढेर ११० रुपियाँ थोकमै पुगेको छ । खुद्रामा यसको मूल्य प्रतिकेजीको २२० रुपियाँसम्म किनबेच भएको छ । यस्तै सो अवधिमा सेतो मुला ३७ मा कारोबार भएकामा अहिले बढेर ७६ रुपियाँ रहेको छ । स्थानीय काउली प्रतिकेजी ६८ रुपियाँबाट ८८ रुपियाँ, मकैबोडी ६६ रुपियाँबाट ८५ रुपियाँमा थोकमा किनबेच भइरहेको छ । यस्तै भदौ ४ गते भटमास प्रतिकेजी १०४ रुपियाँ, तितेकरेला प्रतिकेजी ५० रुपियाँ, लौका प्रतिकेजी ८० रुपियाँ, परबर प्रतिकेजी ७० रुपियाँ, घिरौँला प्रतिकेजी ५० रुपियाँ र भिन्डी प्रतिकेजी ५० रुपियाँमा किनबेच भएको छ । यसको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ ।

चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् । एक महिनाअघि १५० रुपियाँमा एक झोलासम्म आउने तरकारी अहिले आएर त्यो पैसाले एक केजी पनि मुस्किल भएको र त्यसमाथि पनि ताजा तरकारी नपाएको उपभोगकर्ताहरुको गुनासो छ ।

व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो तर विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी लगाउँछन् । बजार अनुगमन गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तीन/चार वटा समूहले नियमित रूपमा मूल्य अनुगमन गरेर कारबाहीसमेत गर्दै आएको जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् । समितिका अनुसार आइतबार बजारमा झन्डै छ सय मेट्रिक टनको हाराहारीमा मात्रै कालीमाटी बजारमा तरकारी भित्रिएको थियो भने सोमबार १०/११ बजेसम्म तीन/चार सयको हाराहारीमा तरकारी भित्रिएको छ ।