काठमाडौं । बुद्ध एयरले १८ औं एटीआर विमान भित्र्याएको छ । शुक्रबार काठमाडौं अवतरण गरेको नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२—५०० सिरिजको हो । योसँगै एटीआर—७२ सिरिजको विमान संख्या बुद्धसँग १५ थान पुगेको छ । नयाँ विमान को आवश्यक कागजी प्रक्रिया पूरा गरी आगामी साउनबाट नियमित उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ ।
बुद्धले नयाँ विमानको दर्ता नम्बर (एन—एएनजेड) पाएको छ । यो विमान फ्रान्सको टुलुसबाट ल्याइएको हो । अब बुद्धसँग ४७ सिट क्षमताका तीन थान एटीआर ४२—३२० र १५ थान एटीआर ७२—५०० सिरिजका विमान भएका छन् । हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप विमान थपिएको बुद्धका बजार निर्देशक रुपेश जोशीले बताए ।
थपिएको नयाँ विमानबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप एक उडान गर्ने योजना छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक दुई उडान भइरहेको छ । थपिएको विमानबाट अन्य गन्तव्यमा पनि उडान संख्या थप्ने योजना बुद्धको छ । थपिएको विमान नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीको भनाइ छ । बुद्धले आन्तरिकतर्फ हाल दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको बनारस उडान गरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जका लागि अन्तर प्रदेश उडान पनि गरिरहेको छ ।