काठमाडौँ — मौद्रिक नीति सार्वजनिक भएको दुईदिन पछि खुलेको सेयर बजार उत्साह जनक देखिएको छ । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशत बढेको नेप्से परिसूचक २६८१.५६ विन्दुमा सीमित भएको हो । बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो ।
त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो । उच्च अंकले बढेर दुई पटक सर्किट ब्रेकरमार्फत ६० मिनेट बन्द भएको थियो । आज कुल १४८ कम्पनीको सेयर मूल्य बढ्यो । ८७ कम्पनीको सेयर मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी जीवन बिमा उपसमुह ५१९.२७ अकंले बढ्यो ।
नीर्जिवन बिमा ३४५.४६ अंक, विकास बैंक २४५.९२, बैंक १४१.७६ र उत्पादन तथा प्रशोधन १३४.७१ अंकले बढ्यो । लघुवित्त उपमसुह १०.०६ अंकले घट्यो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंकसहित १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३५ प्रतिशतले घट्यो । कारोबार रकमको आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्यारेन्स अघि रह्यो । कुमारी बैंकको ३६ करोड १० लाख रुपैयाँको कारोबार भयो । एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।