काठमाडौँ । बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरूलाई कारबाही हुने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत संलग्न भएको उक्त अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केही व्यवसायीले कर्मचारीमाथि नै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
सोमबार व्यवसायी सहित कालीमाटी फलफूल तथा तरकारी विकास समिति अध्यक्ष, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वाणिज्य विभाग लगायतको छलफलमा कानुन अनुसार कारबाही गर्ने निर्णय गरेको हो । व्यवसायीहरूले अहिले मात्रै नभई विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । व्यवसायीले अनुगमन प्रभावित गर्ने क्रियाकलाप गरेमा उनीहरूको दर्ता खारेजी गरिने प्रजिअ आचार्यले बताए ।
सोमबार नियमनकारी निकायले गरेका निर्णयहरूमा अनिवार्य रूपले मूल्य सूची राख्नुपर्ने, अनुगमनमा अनिवार्य रूपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम बमोजिम कारबाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबीजक अनिवार्य रूपले राख्नुपर्ने, विकास समितिको परिसर भित्रको सरसफाईमा विशेष ध्यान दिने लगायत रहेका छन् ।
आइतबार मन्त्री भण्डारीले छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभाविक मूल्यवृद्धि गरेको पाइएको थियो । मन्त्री भण्डारीले कालोबजारी र अस्वभाविक मूल्यवृद्धि गर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।