काठमाडौं । पाँच वटा रेमिट्यान्स कम्पनी स्वतः खारेज भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार विभिन्न ५ वटा रेमिट्यान्स खारेज गरेको जनाएको हो । ग्लोबल माउन्टेन रेमिट, राम्रो रेमिट, संसार रेमिट, ललित मनि ट्रान्सफर र माक्स मनि ट्रान्सफर प्रालि खारेज भएको हुन् ।
बैंकबाट विप्रेषण कारोबार गर्न इजाजत पत्र प्राप्त गरेका रेमिटेन्स कम्पनीहरूको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उप विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको हो ।
विप्रेषण कारोबारको सिलसिलामा ५ वटा कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस)दिनभित्र जानकारी गराउन पनि सर्वसाधारणमा राष्ट्र बैंककले आग्रह गरेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग लिखित जानकारी दिनु पर्ने छ । नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उपविनियम (८) बमोजिम यो सूचना प्रकाशन गरिएको राष्ट्र बैंकले बताएको छ ।