काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित मंगल बहुमुखी क्याम्पसको १० वर्षे गुरु योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।
प्रमुख अतिथि क्याम्पसका सल्लाहकार र आजीवन सदस्य एवं कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुभलक्ष्मी शाक्यले पानसमा द्विप प्रज्वलन गरी सो कार्यशालाको उद्घाटन गर्नु भएको थियो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.लक्ष्मी बहादुर महर्जनको अध्यक्षतामा सञ्चालित सो कार्यशाला गोष्ठीको सफलताको शुभ कामना दिने क्रममा आफू पनि यस क्याम्पसको सल्लाहकार र आजीवन सदस्य भएको नाताले आफू पनि गुरुयोजना सफल बनाउन निरन्तर संगसंगै लाग्ने बताउनु भयो । यसका साथै कीर्तिपुर नगरपालिकालाई शैक्षिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँका सामुदायिक क्याम्पसले महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि बताउनु भयो । उनले बजेट घटेर आएको कारण गत वर्ष भने अनुरुप यो वर्ष क्याम्पसहरुलाई विनियोजन गर्न नसकेको कुरा अवगत गर्दै सबैको साथ र सहयोग प्राप्त भएमा अब बन्न गईरहेको १० वर्षे गुरु योजना सफल पूर्वक सम्पन्न हुने विश्वास प्रकट गर्नुभयो ।
अध्यक्षले उपस्थित सबैलाई संस्थागत गर्ने क्रममा मंगल क्याम्पसलाई एक प्रतिष्ठित क्याम्पसको रुपमा स्थापित गर्न मंगल अनुसन्धान केन्द्र स्थापना गर्दै यस क्षेत्रका विद्यालय शिक्षकहरुलाई अनुसन्धान आकर्षित गर्न कीर्तिपुर नगरपालिकासँग सहकार्य गर्दै जाने बताउँदै उहाँले भन्नुभयो, ‘आजको कार्यशाला गोष्ठीको एक सुत्रिय उद्देश्य भनेको नै क्याम्पसको १० वर्षे गुरु योजना बनाउनु हो’ ।
गोष्ठी सुरु हुनु पूर्व सहभागीहरुलाई क्याम्पस प्रमुख प्रदिप महर्जनले पावर प्वाईंट प्रेजेन्टेशन गरेर क्याम्पसको वर्तमान स्थितिबारे जानकारी दिनु भएको थियो । गोष्ठिमा सम्बन्धित निकाय, सरोकारवाला, शिक्षक तथा विद्यार्थी, व्यवस्थापन समिति, नगरपालिका शिक्षा समिति प्रतिनिधि, आजीवन सदस्य र कर्मचारीको बृहत उपस्थिति रहेको थियो ।