काठमाडौं । देशभरिका सहकारीमा आर्थिक समस्या आएको समयमा राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना गर्ने भएको छ । आगामी असोज अन्तिम साता लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना गर्न लागेको हो ।
‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूल नाराका साथ असोज २५ र २६ गते काठमाडौँमा गोष्ठी आयोजना हुन लागेको हो । राष्ट्रिय सहकारी बैङ्क लिमिटेड (एनसिबिएल) को आयोजना रहेको गोष्ठीमा सहकारी सङ्घ संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, सहकारी र सहकारीका सरोकारवाला निकायका प्रतिनिधि र इच्छुक व्यक्ति तथा सङ्घ संस्थाका प्रतिनिधि गरी पाँच सय जनासम्मको सहभागिता रहने बताइएको छ ।
सहकारी सङ्घ संस्थाको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरिवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु–याउने उद्देश्यले गोष्ठी आयोजना गरिने बैङ्कका अध्यक्ष केबी उप्रेतीले बताए ।
उनका अनुसार गोष्ठीमा लेखा सुपरिवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल हुने छ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरिवेक्षण समितिको सक्रिय भूमिकाका बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरी सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरिवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठीले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए ।
बैङ्कले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी सङ्घ संस्थाको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । राष्ट्रिय गोष्ठीमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय विषयविज्ञको सहजीकरण रहने बैङ्कको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले बताए ।