काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन समितिले कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले बचत रकम फिर्ता गर्न सक्ने आधारहरु औल्याएको छ । समितिले शुक्रबार सार्वजनिक गरेको पुर्ण प्रतिवेदनमा मोरङ र बारामा कृषि फर्म सञ्चालनमा रहेकाले सो व्यवस्थापनबाट बचत र ऋणको दायित्व पुरा गर्ने सक्ने आधारहरु औल्याएको हो ।
कार्ययोजना बनाई बचतफिर्ता गरिरहेको सहकारी विषयमा गत महिना संसदीय छानविन समितिले अध्यक्ष दिनेश दर्शनधारीसँग सोधपुँछ गरेको थियो । सो बयानलाई मध्येनजर बनाई सार्वजनिक प्रतिवेदनमा संस्थामा चरम तरलता समस्या भएपनि सम्पत्ति व्यवस्थापन सहि ढंगले भए बचतफिर्ता गर्न सकिने आधार सार्वजनिक गरेको हो । बचतफिर्ताको माग बढ्दै जादा पछिल्लो समय सहकारीले साना बचतकर्ताहरुको रकम फिर्ता गरिरहेको छ । अहिलेसम्म करिब २५ सय बचतकर्ताको पाँच सय देखि पाँच हजारको बचतफिर्ता भएको सिइओ सुर्वण महर्जनले बताए ।
संसदीय छानविन समितिले दर्शन सहकारीले केहि कमजोरी गर्दा तरलताका अभाव झेलिरहेको उल्लेख गरेको छ । सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सहकारीले कृषि फार्म सञ्चालन गरेको छ, त्यसमा सहकारीका बचतकर्ताकै लगानी भएपनि प्रतिफल अझै नदेखिको बताएको छ । अध्यक्ष दर्शनधारीले कृषि परियोजना भएकाले त्यसको प्रतिफल आउन केहि समय लाग्ने संसदीय समितिमा जानकारी गराएको थिए ।
उनले भने, ‘विशाल परियोजना छ, हाम्रै सहकारीका शेयर सदस्यहरुको लगानी छ, त्यसको प्रतिफल अबका केहि वर्षबाट आउन थाल्छ, तर सहकारी संस्थाहरुमा यस्तो समस्या आउँछ भन्ने कस्लाई लागेको थियो र ?’ त्यस्तै प्रतिवेदनमा बाराको सिमरामा पनि कृषि फर्म सञ्चालनमा रहेको उल्लेख छ । यस विषयमा दर्शनधारीले त्यसबाट केहि प्रतिफल आउन सुरुभएपनि आर्थिक मन्दीका कारण अपेक्षाकृत नजिता हासिल भएको छैन ।
प्रतिवेदनमा भनिएको छ, अध्यक्ष दर्शनधारीले ठुलो लगानीमा सिनेमा र म्यूजिक भिडिओ समेत बनाएको, त्यसमा ठुलो लगानी फसेको छ । उनले नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा रोचक जोशी, नायक शिव श्रेष्ठका छोरा तथा करिश्मा मानन्धरकी छोरीलाई म्यूजिक भिडिओ र सिनेमा समेत डेब्यू गराई ठुलो लगानी गरेका छन्, प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा दर्शन सहकारीको तरल मौज्दात अहिले १ दशमलब ८३ प्रतिशतमात्रै रहेको उल्लेख छ । कम्तिमा १० प्रतिशत हुनुपर्नेमा त्यो नभएको उल्लेख छ ।
बुदाँ नम्बर ४ मा रहेको सम्पत्तिको सुरक्षण/लगानी र कर्जा जोखिममा उल्लेख गरेको विवरण अनुसार सहकारीमा जम्मा कर्जा १ अर्ब ४५ करोड १३ लाख ४५ हजार २ सय १३ रहेको छ । जसमा प्रावधान जम्मा ६ करोड २५ लाख ६७ हजार २ सय ६०९ रहेको जुन कर्जा र जोखिमको अनुपात विश्लेषण गर्दा ४ दशमलव ३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तिममा भनिएको छ, संस्थाले कूल निक्षेप रकमको कम्तिमा १० प्रतिशत तरलता राख्नुपर्नेमा सो को उल्लङन गरि १ दशमलव ८३ प्रतिशत मात्र तरलता राखेको देखिन्छ । प्रतिवेदनलाई आधार बनाउदा सहकारीमा तरलता रहेको तर, विभिन्न फर्महरु सञ्चालन भएको र सञ्चालक समितिको सम्पत्तिको व्यवस्थापनबाट बचतफिर्ता गर्नसक्ने आधार तय गरेको देखिन्छ । समितिको प्रतिवेदनलाई स्वागत गर्दै अध्यक्ष दर्शनधारीले राज्यका निकाय र शेयर सदस्यहरुले सहयोग गरे छिटै बचतफिर्ता गर्ने बताए ।
यसैबीच, दर्शन सहकारीका अध्यक्ष दिनेश दर्शनधारी र बचत फिर्ता संघर्ष समितिका संयोजक गुनु तामाङबीच विभिन्न बुदाँमा सहमती भएको छ । काठमाडौंमा दुबै पक्षबीच भएको छलफलमा ठुला बचतलाई ऋणबाट प्राप्त सम्पत्ति व्यवस्थापन र साना बचतकर्तालाई नगद प्रवाह गर्नेगरि सहमति भएको संयोजक तामाङले बताए । उनले आइतबारबाटै सहमति कार्यान्वयनमा जाने भएकाले बचतफिर्ताकालागि समय नलाग्ने बताए । उनले आफुसहित दिलेश्वर महर्जन नेतृत्व बचतफिर्ता संघर्ष समिति, कञ्चन महर्जनको नेतृत्वको संघर्ष समितिसँग छलफलगरि थप रणनिति बनाउने बताए । यता, अध्यक्ष दर्शनधारीले तत्काल रकम व्यवस्थापन गर्न मिल्ने सम्पत्ति विक्रिवितरण तथा अन्य बैंकिङ प्रक्रियामा संघर्ष समितिले सहयोग गर्ने सहमति भएको बताए ।