काठमाडौँ — आज हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड लागेको छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ ।
हरितालिका तीज व्रत
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
हरितालिका तीजको पौराणिक सम्बन्ध
हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।
विवाहित र अविवाहित महिलाहरूको वरदान
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।