Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थाल्यो


अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थाल्यो

काठमाडौं । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार गत फागनमा १५ हजार तीन सय ६९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका छन् । पर्यटनका लागि ‘अफसिजन’ मानिने पुसमा आठ हजार चार सय ९२ र माघमा जम्मा छ हजार एक सय ७९ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।

चैत–वैशाखमा अझ धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने उनले बताए । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । यी दुवै याममा अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि विदेशी र आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । पहिलो मुख्य पर्यटकीय यामको सुरु महिना असोजमा २८ हजार सात सय पाँच पर्यटक घुमफरिका लागि उक्त क्षेत्रमा पुगेका थिए । कात्तिकमा २४ हजार चार सय १६ र मङ्सिरमा ११ हजार नौ सय २८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।

पछिल्लो समय भारतीय पर्यटक बढे पनि तेस्रो मुलुकका पर्यटकको सङ्ख्या भने घट्दै गएको प्रमुख डा कडरियाले बताउनुभयो । पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको उनको भनाई थियो ।

सन् २०२३ मा अहिलेसम्मकै बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयले जनाएको छ । उक्त वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले फेरि पुरानै लय समातेको हो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।