काठमाडौँ । एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको कीर्तिपुरको जग्गा र त्यसमा निर्माण हुने भवनविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार एमालेलाई गुरुङको जग्गा र भवन दानविरुद्धको रिट खारेज गरेको हो । न्यायाधीशद्वय मुसलमान र ढकालको यो आदेशसँगै गुरुङले दान गरेको जग्गामा एमाले केन्द्रीय कार्यालय निर्माण हुने बाटो खुलेको हो ।
निवेदक अधिवक्ताहरू ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले सरकारको नेतृत्व गरिरहेको पार्टीले व्यापारीसँग जग्गा दानमा लिनु गैरकानुनी भएको भन्दै एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिट निवेदनमा दान दिने गुरुङ दान लिने एमालेले नेतृत्व गरिरहेको सरकारको नजरमा अभियुक्त रहेको, गुरुङविरुद्ध दुईवटा मुद्दा अदालतमा विचाराधीन रहेको र अदालतबाट दोषी ठहर भएको समेत उल्लेख थियो ।