Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चालु आर्थिक वर्षको पहिलो महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्य भन्दा न्यून


चालु आर्थिक वर्षको पहिलो महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्य भन्दा न्यून

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।

साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार बराबर मात्रै सङ्कलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो । मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजार बराबर भ्याट सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार बराबर मात्रै उठेको देखिएको हो ।

अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा ७ अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो । घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ ।

पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् २२ करोड २० लाख छ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ प्रतिशत अर्थात् ६५ करोड ७१ लाख ६३ हजार बराबर उठेको छ । शिक्षा सेवा कर पनि मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यो शीर्षकमा २० करोड ४५ लाख एक हजार बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा २८ करोड ९६ लाख १७ हजार बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत बढी हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो । गत आर्थिक वर्ष साउनमा सरकारले ३९ अर्ब ८६ करोड ३४ लाख बराबर आन्तरिक राजस्व उठाएको थियो । गत आर्थिक वर्ष २०७९-८० का लागि सरकारले ६ खर्ब २६ अर्ब ६१ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै सङ्कलन भएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले छ खर्ब ७७ अर्ब ७३ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।