काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गर्न सामाजिक सञ्जालमा पोष्ट गरेसँगै समर्थन र आलोचना सुरुभएको छ । सेवाग्राहीको गुनासो बढेको भन्दै प्रधानमन्त्री ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका थिए । उनको सो पोष्टलाई अधिकांसले समर्थन गरेका छन्, भने उनका विपक्षीहरुले विरोध गरेका छन् ।
शनिवारमात्रै उनले निजामति दिवसका दिन आयोजिक कार्यक्रममा कर्मचारीहरुको २५ पैसा पनि तलव नबढ्ने बताएका थिए । निजामति कर्मचारीहरुको तलब २५ प्रतिशत वृद्धि गर्ने विषय उठ्दै गर्दा प्रधानमन्त्रीको सो भनाईको भोली पल्ट खाजाको समय आधा घण्टा घटाएपछि अहिले बहशको विषय बनेको छ ।
उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’ सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न पनि भनेका छन् ।