काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो ।
अध्यक्ष अग्रवालले भेटका क्रममा चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सुझाव दिए । उनले आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
मुलुकको अर्थतन्त्रमा झन्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ । काठमाडौँलगायत मुलुकका अधिकांश ठूला सहरमा व्यापारिक सटर बन्द भएकाप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न स्थायीरुपमै एकल अङ्कको ब्याज कायम हुनुपर्ने चेम्बरको सुझाव छ ।