चितवन। चेपाङ समुदायले आज छोनाम (न्वागी)पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।
यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उनले बताए । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो । चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।
उनका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।
यसैबीच । चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । पालिकाले न्वागीको अवसरमा भदौ २१ गते र २२ गते सार्वाजनिक बिदा दिएको हो ।