काठमाडौँ । हङकङमा भइरहेको २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपालले अस्ट्रेलियाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध ११ रनको जित निकालेको हो ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । २ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए । त्यस्तै विवेक यादवले १ ओभरमा ६ रन दिएर १ विकेट लिँदा लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि शनिबार पनि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै लोकेश बमले ३३ रन बनाए । त्यस्तै विवेक यादवले १२ रन बनाउँदा रसिद खानले १२ रन बनाए । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।
यसअघि शुक्रबार नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो । नेपाल पुल 'बी'बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आजै खेल्दैछ । पुल 'बी' मा अस्ट्रेलिया र इंग्ल्यान्ड दुवैलाई हराउँदै नेपाल समूह विजेतासमेत बनेको छ ।