चितवन — चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म ११ जना यात्रुको शव भेटिएको छ । त्यसमध्ये पाँच यात्रुको शव सनाखत भएको प्रहरीले जनाएको छ । पछिल्लो खोजी र उद्धारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए—नभएको पुष्टि भइसकेको छैन । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।
यसैबीच । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग माग्ने भएको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका बताइएको छ ।