Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमालेद्धारा सार्वजनिक लेखा समिति बैठक बहिस्कार,तत्काल सभापति चयन प्रक्रिया अघि बढाउन माग


एमालेद्धारा सार्वजनिक लेखा समिति बैठक बहिस्कार,तत्काल सभापति चयन प्रक्रिया अघि बढाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बिहीबार १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो । एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए । उक्त घोषणापछि बिहीबार बैठक बोलाइएको थियो । समिति सदस्य गोकुल बाँस्कोटाले भने, ’समिति सभापति नआएसम्म लेखा समितिमा उपस्थित नहुने यसअघि नै घोषणा गरेका हौँ । सभापति चयनका लागि दबाब दिन र समिति बैठक प्रक्रियामा सञ्चालन गर्नका लागि दबाब दिन बैठकमा नआएका हौं ।’

बाँस्कोटाले सत्तारूढ गठबन्धनभित्र संसदीय समिति सभापतिको भागबन्डा नमिलेकाले समस्या आएको बताए । ’समिति सभापतिहरूको भागबन्डा सत्तारूढ गठबन्धनमा मिलेको छैन । जसका कारण संसदीय समितिहरू पंगु बनाउने काम भएको छ,’ उनले भने । समितिका ज्येष्ठ सदस्य केसीले बैठक बोलाउन नहुने पनि बाँस्कोटाको भनाइ छ । ’सभापति चयन नभएसम्म बैठक बोलाउन्नँ भनेर ज्येष्ठ सदस्यले पनि भन्नुपर्छ,’ उनले भने ।

एमालेलाई समिति सभापति नदिने भए घोषणा गरेर भए पनि चयन गरे हुने तर सभापति चयन गरेर मात्रै संसदीय समितिहरू अगाडि बढाउनुपर्ने उनको भनाइ छ । एमाले अनुपस्थित हुँदा समिति बैठक बस्ने सम्भावना न्यून छ । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ । समिति सभापति चयन नभएसम्म लेखा समिति बहिष्कार गर्ने जानकारी एमालेका सांसद भट्टराईले सभामुख देवराज घिमिरेलाई दिएका थिए ।

गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ । सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।