Monday, June 23, 2025

२०८२ असार ९, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

विभागले साउनयता तीन सय ४७ फर्मलाई कारबाही गर्ने


विभागले साउनयता तीन सय ४७ फर्मलाई कारबाही गर्ने

काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ।गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको बताएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फार्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए। उनका अनुसार कारबाही गरिएका फार्मलाई ९२ लाख २५ हजार मूल्यबराबर जरिवाना गरिएको छ।

त्यसैगरी, ३४ फार्मबाट एक करोड एक लाख ९० हजार मूल्यबराबरको वस्तु नष्ट गरिएको विभागले बताएको छ। तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले बताए। उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाई पसल तथा होटेललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएभन्दा चर्को मूल्यमा बिक्री–वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका हुन्।अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फार्ममा अनुगमन गरिरहेको छ।

दसैँ, तिहारलगायत चाडबाडका वेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको संख्या बढाउन लागिएको विभागले बताएको छ।चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए। त्यस्तै, चाडपर्वलक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोकबिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले बताएको छ। अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ द्वारा जानकारी दिन पनि विभागले अपिल गरेको हो।