काठमाडौं । फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीको कला क्याटेगोरीमा काठमाडौंकी काजोल सेठिया पनि परेकी छन् ।
सन् २०१९ मा पेटा एशिया आउट स्ट्यान्डिङ अवार्ड पाइसकेकी काजोलले सिंगापुरमा इन्जिनियरिङ पढ्दा शाकाहारी यात्रा सुरु गरेकी थिइन् ।
जनावरलाई असाध्यै माया गर्ने काजोलले जनावरकै हितका लागि केही काम गर्ने सोच बनाइन् । जनावरको माया र उनीहरूलाई दुःख दिन नपाए हुन्थ्यो भन्ने सोचेर उनले नेपाल फर्किएर भेगन डेरी सुरु गरेकी हुन् ।
सन् २०१८ मा स्थापित उनको डेरीमा जनावरबाट केही नलिएर बनेको दूध, घ्यू, पनिर, बटर जस्ता हेल्थ सप्लिमेन्ट लगायत उत्पादन र बिक्री हुन्छ ।
सन् २०२४ को सुरुमा सेठियाले दोस्रो उद्यम मकालु सुरु गरिन् । हिमालयमा डालेचुक (सी बकथर्न बेरी) खेती गरिरहेका किसानसँगको सहकार्यमा उनले शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको जुसलाई बोत्तलबन्द उत्पादनको रूपमा प्याकेजिङ सुरु गरिन् ।
सामाजिक प्रभाव क्याटेगोरीमा काठमाडौंकी श्रेया गिरी पनि अटाएकी छन् ।