Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित, काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा माग


विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित, काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा माग

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका हुन् ।

पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस नभएको उनीहरूको गुनासो छ । ‘कर्मचारीहरुले निरन्तर रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएका छौं ।

कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्दको त कुनै सीमा नै छैन’, महानिर्देशसमक्ष मागिएको सामूहिक सरुवाको निवेदनमा उल्लेख छ । ‘घटनामा दोषी जो कोहीलाई कानून बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ ‘, कर्मचारीले भनेका छन् ।

विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको उनीहरूको जिकिर छ । उनीहरूले आफूलाई दिइएको दुःख र पाएको समस्याबारे निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनसमक्ष सरुवाको लागि आवश्यक पहलका लागि याचनासमेत गरेका छन् । आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ ।