काठमाडौं । नेपालको भौतिक पूर्वाधारमा लगानी गर्न दक्षिण कोरियाले प्रस्ताव माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग नेपालका लागि दक्षिण कोरियाका राजदूतसहितको एक टोलीले भेटवार्ता गरी भौतिक पूर्वाधारमा थप लगानी प्रतिबद्धता जनाएको छ ।
दौत्य सम्बन्ध पूरा भएको अवसरमा नेपालले लगानीका लागि केही ठोस योजनाहरु दिए आफूहरु लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए । सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको उनले बताए ।
‘भौतिक पूर्वाधारका हिसावले नेपालमा अझै धेरै लगानी गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार छौं’ राजदूत पार्कले भने । जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए ।
‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० वर्ष पुग्दैछ, यहीं बेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिन सके दुई देशबीको सम्बन्ध अझै प्रगाढ हुन्छ’ ज्वालाले भने । उनले नेपालका इन्जिनियरहरुलाई तालिम दिएकोमा दक्षिण कोरियाप्रति आभार प्रकट गरे ।