काठमाडौँ । पार्टीका विरुद्धमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रवक्ता डा.मुलुक ढकाल एक हप्ताका लागि निलम्बनमा परेका छन् । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।
बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो । डा ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो ।
बैठकमा उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाएका थिए । बैठकको सुरुआतमा महामन्त्री डा ढकालले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गरेका थिए ।
सभापतिले उक्त प्रस्तावमा आफ्नो मञ्जुरी रहेको उल्लेख गरे पनि अन्य सदस्यले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्दै प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको थियो । आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका थिए ।
उक्त बैठकमा डा ढकालमाथि कारबाहीसम्बन्धी छलफलका लागि केन्द्रीय अनुशासन आयोगका प्रमुख डा भरतमणि देवकोटालाई समेत बैठकमा आमन्त्रित गरिएको थियो । डा ढकालले सामाजिक सञ्जालमा निलम्बन पत्रसहित पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।