काठमाडौं । पहाडी तथा हिमाली जिल्लामा हुने अतिरिक्त समयका अवस्थित उडानलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप कडाइ गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, बिहीबारदेखि नै लागू हुनेगरी प्राधिकरणले दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान-अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने जनाएको छ ।
उड्डयन भाषामा साना जहाजका लागि तोकिएको मौसम अनुकुलतालाई मेट्रोलजिकल कण्डिसन मिनिमा (भीएमसी मिनिमा) भनिन्छ । जहाजलाई आवश्यक पर्ने तोकिएको दूरीसम्म ककपिटबाट आँखाले हेर्दा देखिने दूरी सफा रहेको सुनिश्चित गरेर मात्रै जहाजका कप्तान पाइलट र उडान सञ्चालन गर्ने वायुसेवाका डिस्प्याचरले ‘उडानयोग्य मौसम भएको’ लिखित घोषणा विमानस्थलमा अनिवार्य बुझाउनुपर्ने छ ।
अनि मात्रै अतिरिक्त समयमा उडान अनुमति दिइने छ । त्यस्तै प्राधिकरणले दबाबमा उडान गर्न पाइलटहरू बाध्य नहुन् भनेर भिजिबिलिटी सुनिश्चितता भइसकेपछि पाइलटहरू पनि पूर्ण रूपमा सन्तुष्ट भएको हुनुपर्ने भनेको छ । यदि पाइलट इन कमान्ड (प्रमुख पाइलट) लाई मौसम प्रतिकूल लागेर असन्तुष्ट भएमा उडान गर्ने÷नगर्ने निर्णय उनीहरूमै निर्भर रहने प्राधिकरणको भनाइ छ ।
२९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान बन्द
त्यसैगरी अब आन्तरिक वायुसेवाअन्तर्गत दुर्गममा उडान गर्दै आएका वायुसेवाले नेपालगन्ज विमानस्थलमा फ्लाइट अपरेसन अफिसर (एफओओ) अनिवार्य राख्नु पर्ने निर्णय गरेको छ । अब प्राधिकरणले हरेक उडानको अनुमति लिने तथा अन्य उड्डयनसम्बन्धी कार्य एफओओद्वारा मात्रै हुनुपर्ने भनेको छ । त्यस्तै दुर्गम तथा हिमाली भेगका विमानस्थलहरूको सञ्चालन समय पुनरावलोकन गर्न तथा हवाई रुटको मौसमको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणले उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।
प्राधिकरणले यसअघि दुर्गमका २९ वटा विमानस्थलमा खराब मौसमका कारण दुर्घटना हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न साउन १८ गतेदेखि दिउँसो साढे १२ बजेपछि अतिरिक्त समयमा उडान नगराउने निर्णय गरेको थियो । जुलाईदेखि सेप्टेम्बर (मध्य असारदेखि मध्य असोज) सम्म मनसुनको प्रभाव पर्ने भएकाले यो नियम लागू गरिएको थियो । यो निर्णयले सडकमार्गको पहुँच नभएको कर्णालीको हुम्ला, रारा, बाजुरा लगायतका जिल्लालाई असर पु¥याएको जनाउँदै जिल्लास्तरबाट विरोध उठेपछि प्राधिकरणले बिहीबार अतिरिक्त समयमा हुने उडानलाई थप कडाइ गरेको हो । प्राधिकरणको निर्णयका कारण कर्णालीमा गम्भीर अवस्थाका बिरामीलाई बाहिर उपचारका लागि लैजान समस्यासमेत भएको छ । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्युसमेत भएको छ ।