काठमाडौं । उत्पादन र रोजगारीका क्षेत्रमा लगानी बढाउनका लागि नेपालले आन्तरिक र बाह्य ऋण लिने भएको छ । आज अर्थमन्त्री वर्षमान पुनले सरकारको प्राथमिकता आन्तरिक उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने रहेकाले त्यसका लागि स्रोत व्यवस्थापन गर्न ऋण लिन लागिएको स्पष्ट पारेका हुन् ।
राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलका क्रममा मंगलबार उठेका प्रश्नको जवाफमा मन्त्री पुनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए । ऋण लिएर विकास खर्च वृद्धि गर्न खोजेको मन्त्री पुनको भनाइ थियो ।
सरकार ऋण उठाउने विषयमा संयमित भएर अगाडि बढ्ने पनि मन्त्री पुनको भनाइ थियो । भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको पनि अर्थमन्त्री पुनको भनाइ थियो । विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले सरकारले उठाएको ऋणको सही ठाउँमा खर्च गर्न आग्रह गरेका थिए ।