बैतडी । विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार तीन सय ६२ बक्यौता उठाउन बाँकी छ ।
मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । चौरासी वटा सरकारी कार्यालयबाट ७ लाख १९ हजार दुई सय ३५ बक्यौता उठाउन बाँकी छ ।
तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् । यस्तै अन्य चार सय ९५ ग्राहकबाट रु ६३ लाख ८० हजार एक सय २६ बक्यौता असुल गर्न बाँकी रहेको छ । समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य सुरु भइसकेको छ ।