काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिए । आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उहाँले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिए ।
उनले काठमाडौँवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे । मन्त्री यादवले हाल काठमाडौँमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे । मन्त्री यादवले काठमाडौँमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए ।
मन्त्री यादवले काठमाडौँमा मात्र नभइ देशका अन्य स्थान, विशेष गरी तराई–मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे । उनले मधेसमा चापाकल (ह्याण्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको जानकारी दिए । मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र, बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजीसन सेन्टरलगायतको निरीक्षण गरे । निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्य लगायतको सहभागिता थियो ।