काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले बिहीबारदेखि ४ दिने ‘रियल स्टेट एक्स्पो’ आयोजना हुने भएको छ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको एक्स्पो पुनः आयोजना गरिएको संघका अध्यक्ष तथा मेला संयोजक समितिका संयोजक विदुर धमलालो जनाए ।
मेलाले घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित सूचना तथा जानकारी उपलब्धग गराइ व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुयाउने अपेक्षा रहेको संघले जनाएको छ । निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका व्यवसायीह र उपभोक्तालाई एकै थलोमा भेला गराई व्यवसायीले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पुर्याउने संघले जनाएको छ ।
चार दिने मेलामा २ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने लक्ष्य लिएको संघले जनाएको छ । भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इंन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीको ६० वटा स्टल रहने छ ।
मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान र बिमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने छन् ।