काठमाडौं । संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना अनुगमन गर्न अर्थ र ऊर्जामन्त्री भोटखोलाको हटियामा शुक्रबार बिहान आएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको जम्बो टोली अपर अरुण आयोजना आएका हुन् ।
विद्युत प्राधिकरणको गौरवको आयोजनाका रूपमा अपर अरुणलाई निर्माण थालिएको हो । टोलीले अपर अरुणको ड्यामसाइड, पावरहाउस र सुरुङ मार्गको दिनभर अवलोकन गर्ने संखुवासभाका संघीय सांसद दीपक खड्काले बताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंक निर्देशक लगायतको टोली आयोजनास्थल आइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । उनीहरु ४ वटा निजी हेलिकप्टर लिएर आयोजनास्थल आएका हुन् ।
अपर अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्यतत् प्राधिकरणले पाएको छ । आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७ सय ८८ कित्तामध्ये ६ सय ९९ कित्ताकाट गरिसकेको छ ।
आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । जलविद्युत आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपैयाँ बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ ।
हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासाग कर्जा जुटाइनेछ । अपर अरुण आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालेको छ ।
प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङगा जेभी कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुल समेत निर्माण गरिनेछ ।