काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै कांग्रेस—एमाले मन्त्रीको टुंगो लगाउन छलफलमा व्यस्त छन् । बिहान सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको नाममा सहमति गरेको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ ।
उनीहरूले पाउने मन्त्रालयको बारेमा छलफल जारी छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ ।
यसैबीच, काँग्रेसले पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा नेतृत्व गर्ने भएको छ । मन्त्री र मन्त्रालयको टुंगो लगाउन अहिले छलफल भइरहेको छ । कांग्रेसबाट रमेश लेखक गृहमन्त्री बन्ने संभावना रहेको छ । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने तय भएको छ । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।
दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफलमा छ । दिपक खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र किशोर सिंह राठोरमध्ये एक मन्त्री हुने सम्भावना छ । मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन् । शेखर–गगन समूहले तेजुलाल बाहेक थप चार मन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । चार मन्त्री पाएको अवस्थामा सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको थियो ।