काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए छन् । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि बनेको भन्दै उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्ससँगको भेटमा उनले भने, सरकारप्रति आशा र भरोसा गर्नुहोस्, तत्काल गर्न सकिने काम यो वर्ष र बाँकी विषयहरु बजेटमै सम्बोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौं । नेपाल चेम्बर अफ कमर्सले उपप्रधान एवं अर्थमन्त्री पौडेललाई नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव दिएको छ । शुक्रबार चेम्बर कार्यसमितिले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गर्दै सुझाव दिएको हो । चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा कर्जामा हाल कायम १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा झारिनुपर्नेमा जोड दिए ।