काठमाडौं । भरतपुरको भाटभटेनी तथा जुस पसलमा म्याद सकिएका सामग्री र अखाद्य वस्तु फेला परेको छ । भरतपुर महानगरपालिकाले गरेको खाद्यान्न सम्बन्धी अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटदेखि सडक किनारमा बिक्री गर्दै आएको जुस पसलसम्म मानव स्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने सामग्री पाइएको हो ।
भाटभटेनीले न्यून गुणस्तरीय म्याद सकिएको सामान बेचेको भन्ने गुनासो आएपछि अनुगमन गरेको थियो । अनुगमनका क्रममा बिग्रिएको निउरो, साग फेला परेको भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए । बिग्रिएको एक,एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको हो ।त्यस्तै, भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ ।
नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको हो । अनुगमन टोलीले भाटभटेनीको स्टोर रुमको पनि निरीक्षण गरेको थियो । स्टोर रूपमा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको र अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताउनुभयो ।
खाने चिजहरू अत्यन्तै अव्यवस्थित र केही कुहिएको पनि भेटिको उनले बताए । अर्कोतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर बिक्री गरेको पायौँ ।’त्यस्तै गरी भरतपुर ओरालोमा रहेको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ ।