काठमाडौं, असोज ७। चालू आर्थिक वर्ष २०८०,८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट एक खर्ब ४५ अर्ब ९० करोड कारोबारमा आधारित तरलता उपयोग गरेका छन्। समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधाद्वारा एक अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधाद्वारा एक खर्ब ४४ अर्ब ७० करोड रुपैयाँ गरी कुल एक खर्ब ४५ अर्ब ९० करोड कारोबारमा आधारित तरलता उपयोग गरेका हुन् । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणद्वारा खुद आठ खर्ब ६४ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार वाणिज्य बैङ्कहरू बाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।समीक्षा अवधिमा अमेरिकी डलर २४ करोड बिक्री गरी ३१ अर्ब ६७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी ५३ अर्ब ४४ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
यस्तै आव २०८०,८१ को पहिलो महिनामा वाणिज्य बैङ्कहरूको पाँच खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ र अन्य वित्तीय संस्था वाणिज्य बैङ्कबाहेकको ९३ अर्ब ७७ करोड रुपैयाँ गरी कुल छ खर्ब ५५ अर्ब ४४ करोड रुपियाँको अन्तरबैङ्क कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको तीन खर्ब १५ अर्ब ४९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाको ४० अर्ब ९७ करोड रुपैयाँ गरी कुल तीन खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँको अन्तरबैङ्क कारोबार भएको थियो ।चालू आवको साउन मसान्तमा राष्ट्र बैङ्कमा रहेको सरकारका विभिन्न खातामा दुई खर्ब आठ अर्ब ९३ करोड प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।