काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित भवनको पुनर्निर्माण सम्पन्न भएसँगै हस्तान्तरणको तयारी भएको छ । समानान्तर जेभीले निर्माण सम्पन्न गरेसँगै राष्ट्र बैंक व्यवस्थापनलाई उक्त भवन हस्तान्तरण गर्न लागिएको हो ।
शनिवार नवनिर्मित भवन परिसरमा विशेष कार्यक्रम आयोजना गरिदैछ । २०७२ सालको भूकम्पबाट उक्त भवन क्षतिग्रस्त भएको थियो । उक्त भवन पुनर्निर्माणका लागि तत्कालीन गभर्नर डा.चिरञ्जीवी नेपालले २०७५ असोज ५ गते शिलान्यास गरेका थिए ।
२०७५ फागुनमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त भवनको ठेक्का लगाएको थियो । कुल ४२ रोपनी तीन आना दुई पैसा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बनेको ६ तले उक्त भवन निर्माणका लागि समानान्तरसँग १ अर्ब ७७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।