काठमाडौं । काठमाडौं उपत्यका सहित देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन घण्टा यता मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेत समेत गरेको छ ।
नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक वर्षाले खतराको संकेत गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै एसएमएस मार्फत् सूचना पठाइएको छ । पश्चिम राप्तीको जलाधार क्षेत्र प्युठानको लुङ्ग्री र नारायणी नदीको जलाधार क्षेत्र बागलुङको मंगलघाट केन्द्रमा बाढीको स्तर चेतावनीको तहसम्म पुगेको छ ।
आज बिहान दुई बजे रुपन्देहीस्थित तिनाउ नदी जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको थियो । यसैगरी कपिलवस्तुस्थित कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा पनि बाढी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने बादल लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा केन्द्रित भएकाले त्यहाँ मध्यमदेखि वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भाना रहेको जनाएको छ । आज राति भने गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । निरन्तर पानी परिरहँदा माटो कमलो हुने भएकाले पहिरो र कटानको जोखिम हुने हुँदा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।