झापा । आर्थिक वर्ष २०८०—८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ ।
सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो भने दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार सात सय १२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
यस्तै, चार लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन प्लाइउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलोसमेत र १८ लाख ८२ हजार मूल्य बराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान भारत निर्यात गरिएको हो । झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरिएका काठबाट बनेका प्लाइउडलगायत काठजन्य उत्पादन पूर्वीनाका काँकडभिट्टा र तराईका अन्य नाकाबाट समेत भारततर्फ निर्यात भइरहेका छन् ।