Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जोमसोममा बसपार्क सञ्चालन


जोमसोममा बसपार्क सञ्चालन

काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको   थियो ।

यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नाका साथै दुर्घटनाको जोखिम बढेको थियो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएर लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउन थालिएको जानकारी दिए ।

गाउँपालिकाले प्रतिस्पर्धामार्फत जोमसोमका सुरेश थकालीलाई रु.२० लाखमा एक वर्षका लागि बसपार्क सञ्चालन र व्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको उनले जानकारी दिए । सिसिटिभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको व्यवस्था तथा टिकट काउन्टरको सहज पहुँचको व्यवस्था गरिएको उनले बताए ।

जोमसोमको प्रवेशद्वारस्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले रु.४८ लाख खर्च गरेर निर्माण गरेको बसपार्कमा करिब एक सय बस, जिप, ट्याक्सी अटाउन सक्ने क्षमता छ । सहरी विकास तथा भवन आयोजना बागलुङले रु.दुई करोड ५० लाखको लागतमा जोमसोमबाट ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण गरेको बसपार्कमा एक सय ५० सवारीसाधन पार्किङ गर्न सकिन्छ ।

विसं २०७३ मा निर्माण सुरु भएको यो बसपार्क विसं २०७९ मा सम्पन्न भई गत वर्ष गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । रु ३० लाख लगानी गरेर बसपार्कमा थप पूर्वाधार विस्तार र मर्मत गरी सञ्चालनमा ल्याइएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए ।

बसपार्क प्रयोग गरेबापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा रु. २५, हलुका सवारीसाधनलाई रु. १५ र मोटरसाइकललाई रु.१० का दरले पार्किङ शुल्क तोकिएको छ ।