काठमाडौं । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीमध्ये २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । काठमाडौंको वल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।
‘कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गरेर हामीले यस्तो योजना बनाएका हौ, अधिकारीले भने । कक्षा ११ र १२ दुबैमा लागु हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यामिक शिक्षा (एसईई) परीक्षामा ४ जिपिए अनिवार्य गरिएको छ । कलेजको यो घोषणासँगै ४ जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।
देशैभरि भएका हजारौं प्लस टु कलेजको भीडमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराउँदैं आएको यस कलेज २०५७ सालमा स्थापना भएको हो । विद्यालयले विद्यार्थीहरुको क्षमताअनुसार विद्यार्थी केन्द्रित स्तरीय पठनपाठन गराउँदैं आएको छ । कक्षा नर्सरीदेखि मास्टर लेभलसम्मको अध्यापन गराउँदैं आईरहेको यो कलेज नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ सालमा निजी तर्फ उत्कृष्ट महाविद्यालयको घोषित हुँदैं सम्मानित समेत भएको थियो ।