काठमाडौं । नेपाल उद्योग परिसंघले बाँसवारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी निर्दोष भएको दाबी गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार अनुसन्धानलागि चौधरीलाई हिरासतमा लिएको छ ।
विराटनगरमा शुक्रबार राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष भीम घिमिरेले चौधरीले उक्त जमिन टेण्डर मार्फत खरिद गरेको दाबी गर्दै उनी निर्दोष भएको जिकिर गरे ।
टेण्डर मार्फत जमिन खरिद गर्दा अपराध हुन्छ भने कारवाही गरे हुन्छ, संघका अध्यक्ष राजेककुमार अग्रवालको आग्रहमा सञ्चारकर्मीका प्रश्नको उत्तर दिँदै घिमिरेले भने, चौधरी कारवाहीको दायरामा पर्ने हो भने टेण्डर मार्फत नै जमिन लिने अरुलाई पनि कारवाही गरिनुपर्छ ।
उनले संघको नियत राजश्व ठगी गर्ने र अपराध गर्नेलाई संरक्षण गर्ने नभएको प्रष्ट गरे । परिषद् बैठकले कोशी प्रदेशमा नयाँ लगानीका क्षेत्रको पहिचान गरी लगानी गर्ने वातावरणको सृजना गर्ने, यस क्षेत्रका उद्योगीले भोगेका समस्याको समाधानका लागि सरकार र नियामक निकाय तथा राजनीतिक दलहरुसँग निरन्तर संवाद र सहकार्य गरेर कोशी प्रदेशमा आर्थिक गतिविधि बढाउन पहल गर्ने विषयमा छलफल भएको संघका अध्यक्ष अग्रवालले जानकारी दिए ।
उनले थप छलफलपछि कोशी प्रदेशमा लगानीका क्षेत्रको पहिचान हुने जानकारी दिए । समग्र औधोगिक वातावरणको निर्माण एवं स्वदेशी उद्योगको संरक्षण विना सरकारले राखेको आर्थिक बृद्धिको लक्ष्य हासिल हुन नसक्ने वताउदै अग्रवालले सरकार र नियामक निकाय निजी क्षेत्रका ससमस्या समाधानकालागि गम्भिर हुनु पर्ने बताए ।
उनले सरकारले आगामी वैशाखमा गर्ने भनिएको लगानी सम्मेलनलाई सफल वनाउन सहआयोजकका रुपमा संघले पुर्ण रुपमा सहयोग र सहकार्य गर्ने वताउदै लगानी सम्मेलन अगाडी नै लगानी कर्तालाई लगानी गर्ने उचित वातावरण रहेको प्रत्याभूति सरकारले दिन सक्नु पर्ने र त्यसकालागि कानून, नीति र व्यवहारमा सुधार ल्याउनु पर्ने अग्रवालले बताए ।
उनले ५ वटा आर्थिक ऐन खारेज गरिनु पर्ने, २८ वटा ऐन संशोधन गर्नुपर्ने र तिनवटा नयाँ ऐन ल्याउनु पर्ने सरकारलाई सुझाव दिए । परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले स्वदेशी उद्योगको प्रवर्द्धन एवं संरक्षण गर्ने नीतिको आवश्यकता रहेको वताउदै उद्योग र व्यापारलाई समान रुपमा नभई उद्योग प्रवर्द्धन गर्ने दृष्टिकोणका आधारमा नीति वनाउनु पर्ने बताए ।