काठमाडौं । १९ देखि ४७ यात्रु क्षमता भएका जहाजका लागि बनाइएको भित्री उपत्यकामा पर्ने सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास–८ विमान सञ्चालन हुने भएको छ ।
कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि सुर्खेत उपत्यकामा पनि उडान अनुमति दिएको छ ।
१० महिनाअघि भएको परीक्षण उडान सफलपछी श्रीले मंसिर १५ गतेदेखि दैनिक काठमाडौं–सुर्खेत क्यानेडीयन विमान ड्यास–८ बाट उडान गर्न लागेको श्रीका अध्यक्ष सुधिर मित्तलले बताए । ‘आर्थिक मामिलामा पछि परेको कर्णाली प्रदेशमा हामी नेपालमा उपलब्ध सबैभन्दा धेरै यात्रु क्षमताको जहाज ड्यास–८ बाट सेवा विस्तार गर्दै छौं । हुम्ला, जुम्ला, मुगु, डोल्पाका स्थानीय, बिरामी, व्यापारीलाई सहज हुने छ,’ अध्यक्ष मित्तलले भने,‘प्रतिस्पर्धाका कारण यो रुटमा हवाई भाडा कम्तीमा १४ सय रुपैयाँले सस्तो पर्ने छ । भने कार्गो दर पनि निकै सस्तो पर्ने छ ।’
सुर्खेतमा सञ्चालन हुने ठूलो जहाजले सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाअन्तर्गत पश्चिमी भेगका नगर र गाउँपालिकाका स्थानीय, कर्मचारी, पदाधिकारीलाई पनि नेपालगन्ज र धनगढी विमानस्थल भएर काठमाडौंबाट ओहोरदोहार गर्नुपर्ने लामो दूरीको बाध्यात्मक यात्रा अझ छोटो, सस्तो र सहज हुने भएको छ ।
हाल काठमाडौंलाई पूर्वमा भद्रपुरदेखि पश्चिममा धनगढीसम्म ड्यास–८ र सीआरजे विमानबाट जोड्दै आइरहेको श्रीका लागि ७ हजार ३ सय २५ फिट उचाइको सुर्खेत विमानस्थल नयाँ गन्तव्य हो । तौलसहित २५ हजार फिट उचाइसम्म उडान गर्न सक्ने ड्यास–८ विमान प्रतिघण्टा ६ सय ५० किलोमिटरको गतिमा उडान गर्ने भएकाले यस्ले काठमाडौं–सुर्खेत रुटमा ४५ मिनेट हाराहारी समय लगाउने छ ।